काठमाडौँ, २९ भदौ |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उहाँले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।“अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ”, उहाँले भन्नुभयो ।प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलालाई सरकारले गम्भीर रुपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताउनुभयो । “यसप्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा समयमै उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा दोषी देखिएमा कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास दिलाउनुभयो ।यही भदौ १८ गते बेलुकी उपचारका लागि पुगेकी मकवानपुर स्थायी ठेगाना भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिसा गोपालीको आकस्मिक कक्षमा समयमै उपचार नपाएर मृत्यु भएको थियो । घटना सार्वजनिक भएलगत्तै अस्पतालबाट पाँच दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकामा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको उहाँले सदनलाई जानकारी गराउनुभयो ।







