बेदकोट (कञ्चनपुर), २९ भदौ |
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो ।त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।”वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ । बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ । बुढा जस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ । कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ । उहाँ वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उहाँको भनाइ छ ।कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो । उहाँ डोटीबाट दशकअघि कुतियाकबर झर्नुभएको थियो । “सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो”, लालबहादुर सुनाउनुहुन्छ, “डेढ/दुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि ।” जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ । कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ ।विसं २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो । त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे । अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवार मात्रै छन् । यो नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो । सदरमुकामबाट टाढा रहेको यस भूभागका स्थानीयले राज्य भएको अनुभूति गर्न नपाएको गुनासो गरिरहनछन् ।जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ । सयौँ बिघा खेतीयोग्य जमिन बगर बनिसकेको छ । बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन् । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू ।पानी परेको रात जाग्राम बस्नुपर्ने यहाँका मानिसको बाध्यता हो । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ । “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ”, स्थानीय वसन्ती सुनारले भन्नुभयो, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन, त्रासै त्रासमा बस्नुपरेको छ ।”







