चितवन, २७ भदौ |

माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो । ऐलनी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो ।नगरपालिकाको राजस्व सङ्कलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताउनुभयो । खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि रु पाँच सय तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि रु एक हजार राजस्व लिई कच्ची घर अभिलेखीकरण गरिने उहाँले जानकारी दिनुभयो । पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ । अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपत् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ । माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन् । ती घर सबैको अभिलेखीकरण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here