गोरखा, २७ भदौ |
गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा सुरु गर्नुभएको ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गर्नुभएका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।हरेक बिहान ग्राहकको माग अनुसारका कृषि सामग्री निर्माण गर्नु उहाँको दिनचर्या बनेको छ । कुटो, कोदालो, हसिँया, खुर्पा मात्र नभएर ग्रामिण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरु विश्वकर्मा आफैँले तयार पार्नुहुन्छ । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक तथा स्थानीयवासी उहाँको आरनमा पुग्छन् ।“आरन चलाएर दुई छोरा र एक छोरीलाई पढाइ उतारेँ”, विश्वकर्माले भन्नुभयो, “यहीँ पेसाबाट जीविकोपार्जन भइरहेको छ, पेसाबाट सन्तुष्ट नै छु ।” श्रीमती र छोराछोरीसहित परिवारका पाँचै सदस्यको पालनपोषण र शिक्षादीक्षा आरन व्यवसायले नै धानेको उहाँले बताउनुभयो । “मासिक कति आम्दानी हुन्छ भन्ने यकिन हुँदैन तर यहीँ पेसाबाट घरगृहस्थी चलेको छ”, उहाँले भन्नुभयो ।
आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।”विश्वकर्माका अनुसार पुरानो आरनलाई सुधारिएको आरनका रुपमा विकसित गरेर लैजानका लागि स्थानीय सरकारले पुराना आरन व्यवसायीलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिकामार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेसिन, वेल्डिङ्ग मेसिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि सजिलो भएको उहाँको भनाइ थियो । “वडा कार्यालयले नयाँ प्रविधि तथा उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङ्गा ल्याएर रसायन लगाउनु पर्दथ्यो”, विश्वकर्माले भन्नुभयो, “वडाले सहयोगपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।”गाउँपालिकाले पालिकाभित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरुप आर्थिक सहयोग प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । “स्थानीय स्तरमा आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई पालिकाले आवश्यक सहयोग गर्दै आएको छ | यस व्यवसायलाई घरेलु उद्योगसँगै आर्थिक आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।”








