काठमाडौँ, २६ भदौ |

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्र्यौँ”, नेता खनालले भन्नुभयो, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्र्यौँ ।आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी हुनुभएको बताउनुभयो । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो ।नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित हुनुभएको उल्लेख गर्दै उहाँले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । नेम्वाङ भौतिकरूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गर्नुभएको योगदान सबैका सामु स्पष्ट रहेको उहाँको भनाइ छ ।पूर्वसभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here