काठमाडौँ, २६ भदौ |
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताउनुभएको छ ।आज शोक वक्तव्य जारी गर्दै उहाँले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गर्नुभयो ।“२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ”, जारी शोक वक्तव्यमा भनिएको छ ।अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताउनुभएको छ । उहाँको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयघातका कारणले निधन भएको हो ।







