महेन्द्रनगर (कञ्चनपुर), २२ भदौ |
सुदूरपश्चिमको आर्थिक समृद्धिसित जोडिएको कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणको अवधि लम्बिँदै गएको छ । सुरुआतका वर्षमा निर्माणले गति पाए पनि निर्माणको अन्ततिर पुग्दा बजेट अभाव र पुलसँगै बनेका पोखरीको ‘गाइडबण्ड’को ‘डिजाइन भेरिएसन’ नहुँदा लगायतका कारणले पुल निर्माणको अवधि लम्बिँदै गएको हो ।महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताउनुभयो । उहाँले पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीलाई गत आर्थिक वर्षको काम गरे बापतको रु २३ करोड रकम भुक्तानी दिन नसकिएको जानकारी दिनुभयो । “पुल निर्माण सम्पन्न गर्न अझै रु ५०÷६० करोड रकम आवश्यक पर्छ | पुल योजना कार्यालयका अनुसार पुल निर्माणका लागि चालु आवमा रु १८ करोड ६० लाख बजेट विनियोजित छ ।
पुलसँगै पर्यटकीय दृष्टिकोणले पनि रमणीय बनाउन यहाँ पुलको दुवैतर्फ उत्तर र दक्षिण गरी चार पोखरीसमेत निर्माण गरिएका छन् । पोखरीको गाइडबण्डका लागि ठूला ढुङ्गा उपलब्ध नहुँदा डिजाइन परिर्वतन गरिएको थियो । पोखरीको गाइडबण्डमा गएको केही दिनयता आएको बाढीले सामान्य समस्यासमेत देखिएकाले सो समस्याको पनि दीर्घकालीन समाधान खोजेर भेरिएसन स्वीकृतिका लागि पहल गरिने प्रमुख गुरुङको भनाइ छ । “गाइडबण्डमा केही स्थानमा समस्या देखिएपछि काठमाडौँबाट परामर्शदातासहितको टोली निर्माणस्थल आउने छ ।अब भेरिएसन नै नगरी काम गर्दा विविध समस्या हुनसक्ने भएकाले काम गर्न सक्ने अवस्था देखिएन ।” आगामी चैतसम्म निर्माणको अवधि रहेको जनाउँदै उहाँले बजेट अभाव नभए समयमै सकिने बताउनुभयो ।








