काठमाडौँ, २१ भदौ |

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा आरजु राणा देउवाले जानकारी दिनुभयो ।उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मीना तामाङ, अशोककुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल रहनुभएको छ । उपसमितिले विधेयकका विषयमा छलफल गरी समितिलाई सुझाव दिनेछ ।बैठकमा सांसदहरु अमृतलाल राजवंशी, रुपा सो शी चौधरी, विनिता कठायत, सरस्वती सुब्बा, डिल्लीराज पन्तलगायतले खाद्य स्वच्छता मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसलाई प्राथमिकता दिएर काम गरिनुपर्नेमा जोड दिनुभएको थियो । विदेशबाट नेपालमा खाद्य सामग्री आयात गर्दा परीक्षण गर्ने यन्त्र नहुँदा रोगव्याध फैलिएर समस्या हुने गरेकाले सीमानाकामा परीक्षणको व्यवस्था गर्न विस्तृत छलफल गरी सरकारलाई निर्देशन दिनुपर्नेमा सांसदहरुले सभापतिको ध्यानाकर्षण गराउनुभएको थियो ।सभापति राणाले विधेयक छिटो अघि बढाई यस्ता विषयमा ठोस काम गर्न कानुनी सुनिश्चितता गर्नकै लागि उपसमिति गठन गरिएको जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here