कास्की, २१ भदौ |

विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । त्यहाँ उहाँलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा हुनुहुन्छ ।आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९औँ संस्करणको एशियाली खेलकुद(एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ । इन्डोनेसियामा चार वर्ष अघि १८औँ संस्करणमा उहाँ एशियाली खेलकुदमा पहिलो पटक सहभागी बन्नुभएको थियो ।पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यसपटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा हुनुहुन्छ । अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५ मिटर आसपास हानेकाले यसपटक पहिलाको रेडर्क ब्रेक गर्नेमा उहाँ आशावादी हुनुहुन्छ ।“इन्डोनेसियामा पहिलो सहभागिता भएकाले खेल्दा ‘कन्फिडेन्स’ थिएन, तर राम्रो स्कोर हानेको थिए, अहिले राम्रो तयारी गरेको छु, बिग्रन्छ कि भन्ने मनमा डर भए पनि नियमित अभ्यास र अनुभवले राम्रो गर्छु भन्ने लागेको छ। यसपटक बन्द प्रशिक्षणबाहेक पनि वर्षभरि नै अभ्यास गरेकाले आफ्नो प्रदर्शन राम्रो हुनेमा उहाँ आशावादी देखिनुहुन्छ ।नेपालले एशियाली खेलकुदमा आर्चरीमा १६औँ संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । यसअघि तीन पटकको सहभागितामा केबल भाग लिनुमा मात्रै सीमित भएको छ । नेपालले पदक जित्न सकेको छैन, तर खेलाडीमा पदकको आस भने कायमै छ । पहिलो सहभागितामा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता समूहचरणबाट माथि बढ्न सकेको छैन ।

एशियाडमा आर्चरीको ‘रिकर्भ’ र ‘कम्पाउण्ड’ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ । रिकर्भमा तिलकसहित मञ्जु बजगाईं र कम्पाउण्डमा योगेन्द्र शेरचन तथा इमायिङ्ग राई हुनुुहुन्छ । कम्पाउण्ड विधामा प्रतिस्पर्धाको तयारी गरिरहनुभएका शेरचन यसपटक सेमिफाइनलसम्म पुग्ने आफूहरुको लक्ष्य रहेको बताउनुहुन्छ । बन्द प्रशिक्षण राम्रो भए पनि पर्याप्त खेल सामग्री प्राप्त नहुँदा भने उहाँ चिन्तित हुनुहुन्छ । शेरचनले आफ्नै लगानीमा खेल सामग्री जुटाएर अभ्यास गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “राखेपले पर्याप्त उपकरण दिएको छैन, एरोको सबै सेट मागेको थियौँ, तर एरो मात्र दिएको छ, आफैँले रु दुई लाख ५० हजार खर्च गरेर बो किनेर अहिले अभ्यास गरिरहेको छु ।एसियाडमा शेरचनको यो पहिलो सहभागिता हो । प्रतियोगितालाई लिएर उहाँ उत्साहित हुनुहुन्छ । आर्चरीको ओलम्पिकमै सहभागिता जनाउन लागेको जस्तो लागेको उहाँ बताउनुहुन्छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा वसन्त थकालीले टोलीलाई प्रशिक्षण दिनुभएको छ । उहाँलाई नेपाल आर्चरी सङ्घका केन्द्री अध्यक्ष दीपक गुरुङलेसमेत साथ दिनुभएको छ । प्रशिक्षक थकालीले बन्द प्रशिक्षणमा खेलाडीको स्तर छनोट चरणभन्दा राम्रो भएको बताउनुभयो । खेलाडीको ‘फिजिकल फिटनेस’सँगै प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई जोड दिएर बन्द प्रशिक्षण सञ्चालन भइरहेको उहाँको भनाइ छ ।नेपाली टोलीले काठमाडौँमा एक महिना अभ्यास गरेपछि साउन १ देखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ ।एसियाडका लागि आर्चरीको छनोटमा सुरुआतमा नवौँमा सहभागी २० खेलाडीमध्येबाट १६ जना छनोट गरिएको थियो । त्यसपछि तीनपटक छनोट गरी चार जनामा झारिएको बताइन्छ । एशियाली खेलकुद(एसियाड) को १९औँ संस्करण हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here