सिन्धुपाल्चोक, २० भदौ |

पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो ।यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताउनुभयो । “यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ”, नेता सापकोटाले भन्नुभयो ।छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिर्माण भएकामा खुसी व्यक्त गर्दै उहाँले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा लागि पर्नुहुने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गर्नुभयो । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उहाँको प्रतिबद्धता छ ।लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । विसं १९६४ मा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुसी भएका छन् । विसं २०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो ।यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनःनिर्माण भएको थियो । पुरातत्व विभाग काठमाडौँद्वारा रु दुई करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यागोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीका अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।कुनैबेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो। मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुती पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here