तनहुँ, २० भदौ |
जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको हो ।विद्यालयले सिक्दै र पढ्दै अभियानअन्तर्गत गायन बाद्यबाजन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायत कार्यलाई प्राथामिकता दिँदै आएको छ। करिब एक हप्ता अघिदेखि पढाइका साथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लाग्नुभएको उहाँले बताउनुभयो । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई आफ्नो रुचिको विषय र क्षेत्र छुट्याएर सिक्न लगाइएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर दरैले जानकारी दिनुभयो ।उक्त विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । आदिवासी जनजाति समुदायका बालबालिकाको बाहुल्य रहेको उक्त विद्यालयमा क्षेत्री र बाहुनको सङ्ख्या नगण्य मात्रामा छ ।स्थानीयस्तरका विस्थापित बन्दै गएको सीप यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।आफ्ना छोराछोरीलाई अभिभावकले सीप सिकाउनुपर्ने दायित्व भए पनि त्यसो हुुन नसक्दा विद्यालयले पहल गर्न थालेको हो । स्थानीयस्तरका सीप लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताउनुभयो ।सीपहरु स्थान्नतरण र हस्तान्तरण हुन सकेका छैनन् स्थानीय सीपलाई जोगाउँदै स्थान्नतरण गर्ने सोचका साथ विद्यालय परिवार अघि बढेको उहाँले भन्नुभयो । सैनिक विद्यालयमा अध्ययन गरेर आउनु भएका शिक्षक पुरन गुरुङसँग चौतर्फी सीप र ज्ञान भएकाले उहाँले विद्यार्थीलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।स्थानीय भूपु विद्यार्थी, भूपु शिक्षक, स्थानीयवासी, स्थानीय तह सबैको साथ र सहयोग रहेमा यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सकिने सम्भावना देखिएको प्रअ दरैले बताउनुभयो ।








