झापा, २० भदौ |
मानव बेचबिखन रोक्न पूर्वीनाका काँकडभिट्टामा कार्यरत विभिन्न गैरसरकारी संस्था आज सम्मानित भएका छन् ।झापा जिल्ला प्रशासन कार्यालयले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १७ औँ दिवसको अवसर पारेर क्रियाशील सङ्घसंस्थालाई सम्मान गरेको हो ।सम्मानित हुने संस्थाहरूमा मााइती नेपाल, क्यारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, आफन्त नेपाल, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हात नेपाल र मानवाधिकारका लागि एकल महिला समूह रहेका छन् ।कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईं र सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले काँकडभिट्टामा आयोजित जिल्लास्तरीय कार्यक्रममा सम्मानित संस्थाका प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।झापा जिल्ला प्रशासन कार्यालयको संयोजन र क्यारितास नेपालको आयोजनामा काँकडभिट्टामा आज आयोजित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम भएको छ । सो अवसरमा कचहरी नाटकसमेत मञ्चन गरिएको थियो ।प्रदेशसभा सदस्य बजगाईंले खुला सीमाका कारण सबै किसिमका अपराध बढे पनि गैरसरकारी सङ्घसंस्थाले मानव बेचबिखन रोक्न नाकामा गरिरहेको निगरानीको प्रशंसा गर्नुभयो । सामाजिक निगरानी र सजगताले मानव बेचबिखन न्यूनीकरणमा योगदान पुगेको उहाँको भनाइ थियो ।सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले मानव बेचबिखन जघन्य मानवीय अपराध भएको धारणा व्यक्त गर्दै सीमा क्षेत्रमा अहोरात्र परिचालित सुरक्षाकर्मी र गैरसरकारी सङ्घ संस्थाले पु¥याएको योगदानका कारण अपराधमा न्यूनीकरण सम्भव भएको बताउनुभयो ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मानव बेचबिखनको स्वरूप फेरिएको चर्चा गर्दै खुला सीमा, वैदेशिक रोजगारी, विदेशी नागरिकसँगको विवाह, अर्काका लागि शिशु जन्माइदिने सेरोगेसी, अङ्ग प्रत्यारोपण र गरिबी मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागि मुख्य चुनौती रहेको बताउनुभयो ।खाडी, युरोप र अफ्रिकी मुलुकसम्म मानव बेचबिखन गर्ने आपराधिक सञ्जालले पछिल्लो समय काँकडभिट्टा नाका प्रयोग गरिरहेको जनाउँदै उहाँले विगत एक वर्षमा जोखिममा परेका चार सय १० जनालाई नाकामा रोकिएको, पाँच सय ५१ जनालाई सम्झाइबुझाई फर्काइएको र १३ जनालाई विदेशबाट उद्धार गरेर ल्याइएको बताउनुभयो ।माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरेले मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागि परम्परागत शैलीको साटो प्रविधियुक्त नयाँ तरिका अपनाउनुपर्नेमा जोड दिनुभएको थियो । भारतका विभिन्न सहरमा जोखिममा परेका नेपाली बालबालिका तथा महिलाको उद्धारका लागि त्यहाँको सरकारले नेपाल सरकारको प्रतिनिधि खोज्न थालेको हुँदा गैरसरकारी संस्थाले गर्दै आएको उद्धार अभियानमा चुनौती थपिएको बताउनुभयो ।क्यारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारीले झापा र मोरङका चार जना महिला अहिले पनि विदेशमा बन्धक अवस्थामा उद्धारको पर्खाइमा रहनुभएको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानुअघि सजगता अपनाउन सर्वसाधारणलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा परिवर्तन थिएटरले ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो । वैदेशिक रोजगारीको बहानामा कसरी नेपाली युवती बेचबिखनको धन्धा चलाउने गिरोहको फन्दामा पर्छन् भन्ने विषयवस्तुमा उक्त नाटकले सन्देश प्रवाह गरेको नाटककी निर्देशक कविता नेपालले बताउनुभयो ।








