काठमाडौं,१७,भदौ ।

रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल पक्षका र रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । कँडेल हालका अध्यक्षसमेत हुन् । एमालेका एक नेताले भने, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ । हिजो रातभर प्रयास गर्दा पनि सफल भएन । फेरि पनि सहमतिको प्रयास जारी छ । अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेललगायत सबैजसो नेताहरुले गुटबन्दीको विरोध गरे पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन गुटगत प्रयास भने भइरहेका छन् । त्यसैले नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छिटो टुंगो लगाउन निर्देशन दिएका थिए । बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टीका उपाध्यक्ष, महासचिव, सचिवसहितका नेताहरु लुम्बिनी प्रदेशकै भएको भन्दै सहमतिमा नाम टुंग्याउन भनेका थिए ।आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गरेका ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरेका थिए । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् । उनले प्रतिनिधिहरुलाई समेत इञ्चार्जको निर्देशन मान्नुपर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । उनले इगो त्यागेर नेकपा एमाले एकताबद्ध र सुदृढ हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here