महोत्तरी, १७ भदौ |

यसपालि गएको हिउँद र अहिलेको बर्खायाममा पनि राम्ररी पानी परेन । साउन अन्तिम साताअघि आक्कलझुक्कल परेको पानीले महोत्तरीमा सामान्य खेतीपाती नै हुन सकेन । साउन अन्तिम साता प्रारम्भदेखि झण्डै तीन साता पानी परिरहे पनि खोल्साखोल्सी भने त्यति उर्लेनन् । तर लगातार तीन साता पानी परिरहँदा जिल्लाको सुदूरउत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र बर्दिबासका सर्वसाधारण भने त्रासमै रहे ।खोल्सा उर्लेर घर पुर्ने हो कि भन्ने त्रासले पानी परी रहँदा बर्दिबासवासी राम्ररी निदाउन सक्दैनन् । “पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पानी बढी पर्दा खोलाखोल्सी उर्लेर घरबारी बगाउने त्रास”, बर्दिबास–१ का ७५ वर्षीय भक्त भण्डारी भन्नुहुन्छ, “धन्न यसपालि अहिलेसम्म खोल्साखोल्सी त्यसरी उर्लेनन् ।भण्डारीजस्तै सो बस्तीकै ४० वर्षीय विनोद खड्का पनि भारी वर्ष हुन थालेपछि तर्सनुहुन्छ । वर्षाकालमा खड्कालाई राति राम्ररी निन्द्रा लाग्दैन । घर मास्तिर पाखामा कालो बादल देखिनासाथ खड्काको परिवार तीन वर्षअघिको विपत्ती सम्झन्छन् । २०७७ को असार मसान्तताका गणन्ते खोल्सीको भेलले घरको कोठाचोटा सबै बालुवा र गेगरले पुरेको सम्झनाले नै झस्काउने गरेको विनोद बताउनुहुन्छ । त्यतिखेर पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीको बाढीले बर्दिबास मुख्यचोक नजिकै रहेको विनोदको घरभित्रसम्म गेगर थुप्य्राउँदा करोडौं मूल्यका मोटर पार्ट्सका समान पुरिएर नोक्सान भएको थियो ।बर्दिबास नगरपालिकाको वडा नं १, २ र १४ को पूर्वी साँध रातु नदी र पश्चिमी साँध भब्सी नदीबीच करिब दुई किलोमिटरको दूरीमा १० भन्दा बढी खोल्सीले बर्सेनिजसो वर्षाकालमा उत्पात मच्चाउँदै आएका छन् । पहाडी शृङ्खलाबाट झर्ने दाहाल्नी खोल्सी, हबल्दार खोल्सी, गणन्ते खोल्सी, कामी खोल्सी, पानी खोल्सी, साँपमारा खोल्सी, बलुवानी खोल्सी, जोगी खोल्सी, ठूलो बलुवानी खोल्सी र पेरुङ्गे खोल्सी व्यवस्थित गर्न नसक्दा सधैं घर पो ढाल्ने हो कि भन्ने चिन्ता भइरहने यहाँका बासिन्दा बताउँछन् । “यसपालि भने पानी राम्ररी नपर्दा खोल्सी बौलाएका छैनन्” साँपमारा खोल्सी नजिक घर हुने डोलबहादुर भुजेलले सन्तोषको श्वास फेर्दै भन्नुभयो । चुरे शृङ्खलाका पाखा र थुम्कातिर राम्ररी पानी नपर्दा घर ढल्ने त्रास नपरे पनि त्यही पानी नहुँदा बाली लगाउन नपाइएको चिन्ता भने उत्तिकै रहेको भुजेल बताउनुहुन्छ ।बर्दिबासचोक क्षेत्रमा आवादी बढ्दै गएसँगै यहाँका खोल्सीको बहाव क्षेत्र साँघुुरिदै गएका छन् । खोल्साखोल्सीको बहाव क्षेत्र थुनेर, पुरेर घर र अन्य कैयन संरचना बनाइँदा वर्षायाममा यिनको उत्पात बढ्ने गरेको भू–गर्भ र चुरे पर्वत श्रेणीको प्रकृति बुझेका विज्ञ बताउँछन् । “पहाडबाट झर्ने खोल्सीले बग्ने ठाउँ नपाएपछि बस्तीहरु बाढीको जोखिममा पर्दै आएका छन््” पछिल्ला १५÷१६ वर्षदेखि चुरे जलाधार क्षेत्रको संरक्षणमा अभियान नै सञ्चालन गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्नुहुन्छ, “वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगरी दिनदिनै बढ्दै गएको शहरीकरणले अझ भयावह अवस्था भोग्ने दिन आउन सक्छन् ।सघन बजार क्षेत्रमा खोल्सी पुरेर सडक बनाउने, घर बनाउने र अन्य संरचना बनाउने होड चलेपछि बर्खे भेल निकासको ठाउँ नभएर बस्ती असुरक्षित हुँदै गएको यादवको भनाइ छ । पछिल्ला केही वर्षयता खोल्सी बाँध्ने काम ठाउँठाउँमा थालिए पनि यो कुनै निकायको प्राथमिकतामा नपर्दा सबै खोल्सी व्यवस्थित हुन सकेका छैनन् । “मुख्य कुरा त यी खोल्सीको बहाव नै थुनिएर संरचना बनेका छन्, यिनले बग्ने ठाउँ त पाउनु प¥यो नि !” यादव भन्नुहुन्छ ।

महोत्तरी जिल्लाको उत्तरी सीमा चुरे पहाडबाट निस्कने रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला, टुटेश्वर, खयरमारा, मडहा र बाँकेलगायतका नदीमा सयौं सङ्ख्याका खोल्सी मिसिएका छन् । वन क्षेत्रभित्रै मुख्य नदीमा मिसिने खोल्सीले बस्ती त्यति कटान नगरे पनि बस्ती क्षेत्र हुँदै मुख्य नदीमा मिसिने खोल्सीका बहाव क्षेत्र भने मासेर संरचना बनाइँदा कटान, डुबान र घर आँगन गेगरले पुरिने समस्या बढेको कुरामा विज्ञहरु एकमत छन् ।जिल्ला भएर बग्ने मुख्य नदीको कुरा गरिँदा रातुमा मात्रै एक सय ३० भन्दाबढी खोल्सी मिसिएका छन् । यसमध्ये १० वटा खोल्सी बर्दिबास मुख्यबजार (वडा नं १, २ र १४) छिचोल्दै रातु र भब्सी नदीमा मिसिन्छन् । तर यी खोल्सी वन पाखाबाट झरेर बस्ती नजिक आइपुग्दा बहाब क्षेत्र पुरिएका हुँदा घर आँगन ढाल्दै नोक्सानी हुने गरेको चुरेविज्ञ डा विजयकुमार सिंह बताउनुहुन्छ । “वन क्षेत्रमै पनि खोल्सीबाट हुने कटान रोक्न योजनाबद्ध खोल्सी व्यवस्थापनको आवश्यकता छ बस्ती क्षेत्रमा त यो हुने नै हो, खोल्सीको बग्ने ठाउँ थुनेर बनाइएका संरचना बर्खे भेलले बगायो, भत्कायो भनेर विलौना गर्नुको कुनै अर्थ छैन ।डा. सिंह भन्नुहुन्छ, “बाढीले जिल्लाका सबै स्थानीय तह प्रभावित हुँदै आएका छन्, यसको प्रबन्धका लागि सबै स्थानीय तहको तत्परताको आवश्यकता छ ।” तर स्थानीय तहहरु बर्सेनि सडकमा ग्राबेल ओछ्याउने, माटो पुर्ने र मर्मत गर्ने योजनामा बढी अल्झेका डा. सिंहको गुनासो छ । यस वर्षको वर्षायाममा जिल्लावासीले बाढी र डुबानको समस्या त्यति धेरै भोग्न परेन । बाढीका मानवीय क्षतिका घटना जिल्लामा त्यति नभए पनि विगत वर्षहरुमा बाढीले घरखेत बगाइएकाहरु अझै बौरिन सकेका छैनन् । बाढी र डुबानले बस्ने घर, खाने अन्न र आङ् ढाक्ने लुगासमेत नजोगिदा यहाँका सर्वसाधारणको यो पीडा नियति नै बनेको छ ।नदी र खोल्साखोल्सीको दिगो व्यवस्थापनको एकिकृत योजना नबनेसम्म बाढीको कटान र डुबान समस्या समाधान नहुने डा. सिंहको ठहर छ । “खुकुलो गेगर माटो भएको चुरे क्षेत्रमा उत्खनन् गरिरहने, विकासका नाउँमा ठूलठूला यन्त्र लगाएर पहाड भस्काउने काम भइरहेको छ” डा. सिंहले चिन्ता व्यक्त गर्नुभयो । जिल्लाका सबै स्थानीय तहको नेतृत्वले प्रदेश र सङ्घीय सरकारको सहयोगमा यसको निदान खोज्नुपर्ने देखिन्छ ।जिल्लाका ठाउँठाउँमा खोल्सी व्यवस्थापनमा भएका प्रयत्नका सकारात्मक असर देखिएका उदाहरण पनि छन् । चुरे घाँटीका बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी र पाटुसहितका बस्ती सुरक्षित देखिएका छन् । यी बस्ती नजिकका खोल्सी दुवैतर्फबाट बाँधेर ठाउँठाउँमा जलाशय निर्माण गरिनाले पानी पुनर्भण्डारणमा मद्दत पुगेको छ । खोल्सी छेउमा हुर्काइएका बाँसका झ्याङ् र अन्य सघन वृृक्षले कटान रोक्न मद्दत गरेसँगै हरियाली प्रबद्र्धनमा सहयोग पुग्ने वातावरणविद्हरु बताउँछन् । यसरी सञ्चय गरिएको पानीबाट बर्दिबास र छिमेकका मिथिला नगरपालिकाका १० जति पाँच सय घरधुरीलाई खानेपानी र दुई हजार बिघाभन्दा बढी जग्गा सिञ्चित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here