गलकोट (बागलुङ), १७ भदौ |

बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।बागलुङ नगरपालिका–८ सिगाना, वडा नं ५ मालिका, वडा नं ६ सिमलगायतका स्थानमा खुम्रे कीराको समस्या अत्यधिकरूपमा पाइएको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लागि किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतीमा खुम्रे कीराको समस्या देखिएको उहाँको भनाइ छ ।

अहिले समस्या भएका किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रे कीराको समस्या देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु ८० हजार बजेट विनियोजन गरेर समस्याग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ । हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको बागलुङ –८ सिगानाका किसान चित्रबहादुर कार्कीले बताउनुभयो । उहाँले कोदोमा डढेलो लागेजस्तै भएर मरेपछि वडा कार्यालय र नगरपालिकाको कृषि प्राविधिक आएर अनुगमन गरेको जानकारी दिनुभयो ।बागलुङ –७ र वडा नं ११ बाट समेत खुम्रे कीराको समस्या भएको भन्दै अनुगमनका लागि कृषि शाखामा खबर आएको कृषि शाखा प्रमुख सापकोटाले बताउनुभयो । नगरपालिकाले सूचना प्रकाशन गरी खुम्रे कीराको प्रकोपको समस्या आएमा र आवश्यक रोगथामका लागि विषादी लैजानका लागि कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।बागलुङ –८ सिगानामा मात्रै ६० रोपनी जग्गामा लगाइएको कोदोमा खुम्रे कीरा र गबारोको समस्या र ३० रोपनी जग्गामा लगाइएको धानखेतीमा ढुसी लागेर जरा कुहिने समस्या देखिएको वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै वडा नं ६ को सिम, भान्सा, लङ्गाउँमा लगाएको कोदोमा खुम्रे कीरा, धानको गुबो मर्ने र सुन्तलामा सेतो ढुसीले पात नष्ट भएर किसान समस्यामा परेको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । क्षतिको विवरण वडाले सङ्कलन गरिरहेको र विषादी वितरण गर्न थालिएको केसीको भनाइ छ । लगातारको वर्षाका कारण खुम्रे कीराको समस्या बढी फैलन पाएको कृषि प्राविधिकको भनाइ छ ।विषादी छर्कँदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्नेछ । हालसम्म तीन सय रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे कीराको समस्याले सखाप भइरहेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको प्राविधिकको भनाइ छ । आगमी दिनमा मकै लगाउने सिजनमा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइने कृषि शााले जनाएको छ । बागलुङ नगरपालिकाका १४ वटै वडामा खुम्रे कीराको समस्याका कारण कोदोमा समस्या देखिन थालेकाले यसको उत्पादनमा गिरावट आउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here