भोजपुर, १६ भदौ |

बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको नेवार समाज दाँवाका अध्यक्ष कमल श्रेष्ठ बताउनुहुन्छ । यो समाजले धर्म संस्कार, संस्कृतिको संरक्षण तथा विकास विस्तारका लागि काम गर्दै आएको उहाँको भनाइ छ ।“हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ । यहाँका करिब ८५ घर परिवार नेवार समुदाय सङ्गठित भएर मौलिक कला, संस्कार संस्कृतिको संरक्षणमा जुटेको उहाँको भनाइ छ । नेवार समुदायको संस्कृतिको रुपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउनेलगायत परम्परा रीतिरिवाज पुस्तान्तरणका लागि समाजले विगत लामो समयबाट काम गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

धर्म, संस्कृति, जातीय अस्तित्व, रीतिरिवाज र बाजा जोगाउन सामूहिकरुपमा संरक्षणको काम गर्दै आएको कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडौँ तथा दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । नेवार समदायका संस्कृति रीतिरिवाजको संरक्षणमा आफ्नो अगुवाइमा विभिन्न कार्यक्रम हुँदै आएको उहाँको भनाइ छ । “नेवार समुदायको छुट्टै कला, संस्कार संस्कृति रीतिरिवाज छ । नेवार समुदायमा, लाखेजात्रा गाईजात्रा, बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो तर नयाँ पुस्तामा यस्ता बाजालाई बजाउने तरिकासमेत फरक पर्दै गएको अवस्था रहेकाले संरक्षणमा जुट्न आवश्यक रहेको उहाँको भनाइ छ । संस्कृतिको संरक्षणसँगै आफ्नो दिवङ्गत बुबाको मृत्यु भएको एक वर्ष पुगेको अवसरमा स–परिवार काठमाडौँबाट गाउँमा आएर गाईजात्रा निकालेको उहाँले जानकारी दिनुभयो । “कतिपय संस्कृत पुस्तान्तरणसँगै लोप हुँदै गएको अवस्था पनि छ ।आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ छ । “आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here