काठमाडौँ, १६ भदौ |

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेश गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गर्नुभएको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उहाँको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियोे । सो अवसरमा राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घले गरेको सहयोगका लागि धन्यवाद दिँदै संयुक्त राष्ट्रसङ्घलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसङ्घीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गर्नुभयो । शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताउनुभएको थियो ।राजदूत थापा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here