चितवन, १३ भदौ |
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।बैठकले असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । जसमध्ये तीन सय ५० हाराहारी जनरल शय्या रहेका छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ ।
अस्पतालको तर्फबाट एक महिलासहित दुई जना चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिनुभयो ।लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्ति पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । पौडेलले अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्था गर्ने बताउनुभयो । अस्पताल आएका बिरामीलाई विवेक प्रयोग गर्न चिकित्सक कर्मचारीलाई उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “क्यान्सर रोगको डाइग्नोसिसदेखि उपचारसम्मका सबै प्रक्रिया यथाशीघ्र छिटोछरितो उपलब्ध गराउने काममा लागिपर्ने छु । यसको अनुभूति बिरामीले केही महिनामा पाउनु हुनेछ । व्यवस्थित नागरिक वडापत्र, सुझाव पेटिका र सूचना केन्द्र स्थापना गर्ने सङ्कल्प गर्दै उहाँले अस्पताल सेवालाई चुस्त दुरुस्त बनाई स्तरोन्नति गर्नेसमेत सङ्कल्प गर्नुभयो । क्यान्सर रोगको नियन्त्रणका क्षेत्रमा योजनाबद्ध कार्यक्रम तयार गरी सातवटै प्रदेशमा क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले क्यान्सर रजिष्ट्रेशनका कार्यक्रमलाई अझै वैज्ञानिक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरको अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछु ।”







