बनियानी (झापा), ३१ साउन |

झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका (लिच थेरापी), पञ्चकर्म/पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । यहाँ ग्याष्ट्रिक, बाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।

कविराज अर्याल केन्द्रमार्फत यहाँका विद्यालयमा आयुर्वेद तथा योग शिक्षासमेत प्रदान गर्ने गरिएको बताउनुहुन्छ । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडीबुटीजन्य औषधि वितरण गरिएको थियो । आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा यादवले बताउनुभयो । सात जनाको स्थायी दरबन्दी भए पनि तीन जनाको दरबन्दी रिक्त छ । हाल केन्द्रमा स्थायी र करारका गरी १३ कर्मचारीले सेवा दिइरहेका छन् । झापामा सरकारीस्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एउटा तथा सात आयुर्वेद औषधालय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here