जाजरकोट, २७ साउन |
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ ।त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिनुभयो ।बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर राख्दै यसवर्ष नगरपालिकाले नै अङ्गुर खरिद गर्ने निर्णय गरेको उहाँको भनाइ छ । नगरपालिकाले खरिद गरेको अङ्गुरको जुस बनाएर आफैँले बिक्री वितरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
नगरपालिकाले अङ्गुरको भुक्तानी प्रतिकिलो रु ८० का दरले एकमुष्टरुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।नगरपालिका अन्तर्गतका किसानले उत्पादन गरेको अङ्गुर खरिद गर्दा करिब रु दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरुमा अङ्गुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो ।वर्षभरि दुःख कष्ट गरेर उत्पादन गरेको अङ्गुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अङ्गुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अङ्गुर किसान कमल हमालले बताउनुभयो ।यो निर्णयले किसानको मेहनत खेर नजाने उहाँको भनाइ छ । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वमेयर स्व ओमबहादुर बुढाले भारतको नासिकबाट अङ्गुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाउनुभएको थियो ।








