गलेश्वर (म्याग्दी), २७ साउन |

म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै बनेको छ ।उहाँले मौसमअनुसार तरकारी खेती गर्नुभएको छ । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उहाँसँग । “आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आउनुभएको छ । बेनी बजारमा उहाँलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाउनुभयो । प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पु¥याउने कार्काीले दैनिक एक डोका तरकारी बिक्री गरेर रू दुई हजारदेखि रू तीन हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रू दुई लाख बढी कमाइ भएको छ । मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताउनुभयो । “दैनिक थोरै भनेको रू दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर रू दुई लाख ६५ हजार कमाएछु ।

तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाउनुभएको छ । कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्नुहुन्छ । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुनुहुन्छ ।कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आउनुभएको छ मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि । ३८ वर्षिया सापकोटाको दैनिक रू सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उहाँले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो ।“हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रू एक हजार पाँच सयसम्म आम्दानी गरेको छु ।कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रू एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् ।साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताउनुभयो । बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बतानुभयो ।“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसा/व्यापार हो भन्ने बुझेको छु । अब सकुञ्जेल यही काम गर्ने हो”, अप्सराले भन्नुभयो । उहाँका अनुसार बेनी बजारमा प्रत्येक बिहान अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here