
म्याग्दी, २६ साउन (रासस) |
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाटदेखि बेगखोला खण्डको वैकल्पिक मार्ग प्रयोगमा आएको छ । रघुगङ्गा–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा जीप, मोटरसाइकल र ट्र्याक्टरले घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क बेगखोला जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालेका हुन् ।बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवतीका पूर्ववडाअध्यक्ष रिम कटुवालले मुख्य सडक अवरुद्ध बनेपछि वैकिल्पिक सडकमा साना सवारी साधनको चाप बढेको बताउनुभयो ।
“बसका यात्रु राहुपारे–रिसिनचौतारी–बैसरी खण्डमा एक घण्टा पैदलयात्रा गरेर गाडी परिवर्तन गरि गन्तव्यतर्फ जाने गरेका छन् साना सवारी साधनले प्रयोग गरेको वैकल्पिक सडक मर्मत गर्ने हो भने आवतजावत सहज हुने थियो ।” मार्ग मात्र खोलिएको करिब दश किलोमिटर दूरीको वैकल्पिक सडक साँघुरो छ । रिसिन चौतारी क्षेत्रमा हिलोमा गाडी फस्ने गरेका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर चोखालले हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन मौसमले साथ दिएमा शुक्रबारदेखिनै काम सुरु हुने बताउनुभयो ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख प्रजापतिले बैसरीको सडकमा खस्ने पहिरो पन्छाउन डोजर लैजाने पहुँचमार्ग खन्न सुरु भएको र साना सवारी साधनका लागि वैकिल्पक सडक मर्मतको तयारी भएको जानकारी दिनुभयो । “सडकमाथिको पाखोबाट निरन्तर खसेको पहिरो पन्छाउन डोजर परिचालन गरेका छौँ ।”बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । जीप पहिरोले पुरिएको छ । सो स्थानमा निरन्तर पहिरो खसिरहेको छ । भिरबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । सडकमाथिको पाखो भूमिगत पानीसँगै चिराचिरा परेर ढुंङ्गा माटोको लेदोसहित बगेको छ ।
जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर रातको समयमा बेनी–जोमसोम सडकको राहुघाट–भुरुङ तातोपानी खण्डमा यात्रा नगर्न अनुरोध गरेको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम सडकमा यातायात आवतजावतमा देखिएको समस्या हटाउन पहल गरिएको बताउनुभयो ।“कालीगण्डकी कोरीडोर आयोजनाले पहिरो पन्छाएर मुख्य सडक खुलाउने प्रयास गरेको छ”, उहाँले भन्नुभयो, “मुख्य सडक अवरुद्ध भएको अवस्थामा साना सवारी साधनले प्रयोग गरिरहेको वैकल्पिक सडक मर्मत गर्न मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिएको छ ।”







