रौतहट ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको धनुषाको जनपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकमा विभिन्न नेताहरूले पार्टी सञ्चालन र संगठन बलियो बनाउन आ आफना धारणा राखेका थिए ।
प्रदेशका सभापति कृष्ण यादवको सभापतित्वमा बसेको बैठकमा नेताहरुले धारणा राख्नेक्रममा मधेस प्रदेश कार्यसमितिका सदस्य एवम युवा नेता रविनचन्द्र कोइरालाले पनि पार्टी संचालनका लागि १६ बुँदे सुझाव प्रस्तुत गरेका छन् । पार्टीलाई बलियो तथा मजबुद बनाउनका लागि गरिने कार्यबारेको नीति सहितको सुझाव राखेका थिए ।
नेता कोइरालाले राखेका सुझावहरु
१. कार्यसमिति बैठकको एजेण्डा बैठक बस्ने दिनको कम्तिमा पनि ५ दिन अघि कार्यसमिति सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको छु । सो परिपाठीको विकाश गर्न सके कार्यसमितिको बैठकमा सुझाव दिन सहज हुन्थ्यो ।
२. विधानमा जिल्ला कार्यसमितिका सभापतिज्यूहरू आमन्त्रित सदस्य हुने व्यवस्था भए पनि कुनै पनि सभापतिज्यूहरू उपस्थित नभएको अवस्थामा जिल्लाको अवस्था बारे प्रदेश कार्यसमितिलाई केही पनि जानकारी प्राप्त नहुने भएकोले जिल्ला कार्यसमितिका सभापतिज्यूहरूलाई विधान बमोजिम अनिवार्य उपस्थित गराउन पदाधिकारीहरूज्यूहरू समक्ष अनुरोध गरेको छु ।
३. विधानमा व्यवस्था भए अनुरूप सम्पूर्ण विभागहरूको मिति तोकेर यथाशीघ्र पूर्णता दिई जनता समक्ष कार्यक्रम लिएर जान सुझाव दिएको छु । साथै विभागको संयोजक र सदस्यहरूको नियुक्ति गर्दा जथाभावी तरिकाले नगरी विषय विज्ञताको आधारमा नियुक्ति गर्न सुझाव दिएको छु ।
४. विधानमा व्यवस्था भए अनुरूप प्रत्येक बर्ष गरिनु पर्ने वडा, नगर, प्रदेश, क्षेत्रीय , जिल्ला र मधेश प्रदेश सम्मेलन गर्न ढिला भएको कारणले यथाशीर्घ सो सम्मेलन गराउन माग गरेको छु ।
५. २०७६।०९र०३ मा सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले “राजनितिक पूर्वाग्रह राखी रौतहट क्षेत्र नं २ का तत्कालिन सांसद एवम पूर्व मन्त्री आफताब आलम माथि झुठ्ठा प्रमाणहरू संकलन गर्दै षड्यन्त्र पूर्वक फसाउने कार्य गरेकोमा संसदीय दलले घोर आपत्ति गरेको थियो ।” सोही विषयमा बैठकको एजेण्डामा राखेर प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले केन्द्रीय तहमा आवश्यक पहल गर्न जोडदार माग राखेको छु ।
६. मधेश प्रदेश संसदीय दलमा भएका निर्णय र संसदमा आएका विषयहरू र त्यसको वारेमा नेपाली कांग्रेस मधेश प्रदेशको धारणा प्रदेश कार्यसमितिमा अनिवार्य प्रस्तुत गर्न सुझाव दिएको छु । प्रदेश कार्यसमितिलाई जानकारी भए पार्टीले सरकारमा रहंदा गरेको राम्रो कार्यको प्रचार गर्न सहज हुने जानकारी गराएको छु ।
७. विधानको परिच्छेद ७ (२३) (५) बमोजिम नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनित वा नियुक्त भएका संघीय मन्त्री , संघीय सांसद , प्रदेश मन्त्री, प्रदेश सांसद, जिल्ला समन्व्य समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, गाउंपालिका अध्यक्ष र उपाध्यक्ष र वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र अन्य राजनितिक नियुक्ति वा मनोनित सदस्यहरूले प्रत्यक महिनाको पारिश्रमिकको केही रकम विधान बमोजिम शुल्क संकलनका लागि सुझाव दिएको छु ।
८. विधान बमोजिम केन्द्रिय तह देखी वडा तह सम्म पार्टीमा विभिन्न तहमा बसेका पदीधिकारी तथा सदस्यहरूले लेभी बुझाउनु पर्ने व्यवस्थालाई समय सिमा तोकि संकलन गर्न सुझाव दिएको छु ।
९. शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभागको नेतृत्वमा विज्ञहरू संग परामर्श गरी सुझाव अनुरूप कार्य गर्न सुझाव दिएको छु ।
१०. मधेश प्रदेशमा महिला नेतृत्व विकाशका लागि गम्भिर पहलको आवश्यक्तालाई औंलाउंदै प्रत्येक नगर, गाउंपालिका, क्षेत्र र जिल्लामा नेतृत्व गर्न सक्ने सम्भावित महिलाहरू छनौट गरी नेतृत्व विकाशका तालिम अहिले देखी नै शुरूवात गर्न माग गरेको छु । जहिले मेयरका प्रत्यासीहरू मिलाउन मेयरको टिकट नपाउनेको गृहणीलाई उपमेयरको टिकट दिने अन्यायपूर्ण प्रचलनको अन्त्य गर्नु पर्ने विषयमा स्पष्ट धारणा राखेको छु ।
११. मधेशका युवाहरूको आकर्षण क्षेत्रीय दलहरू प्रति बढ्दो देखिएकोले कांग्रेस पार्टी तर्फ आकर्षण बढाउन उपयुक्त योजना र कार्यक्रमहरू संचालन गर्न सुझाव दिएको छु ।
१२. अबको ५ बर्षमा नेपाली कांग्रेस कस्तो मधेसको परिकल्पना गर्दैछ ? मधेशी जनताको जीवनस्थरमा सकारात्मक प्रभाव पार्न के गर्दैछ ? विज्ञहरूको कमिटी बनाएर प्रतिबेदन तयारपारी सो बमोजिम योजनाबद्ध रूपमा जनता समक्ष लैजान सुझाव दिएको छु ।
१३. डिजिटल मधेश प्रदेशको अवधारणा मैले ५ महिना अघावै सभापतिज्यूको अनुरोधमा पदाधिकारी बैठकमा प्रस्तुत गरेको थिएं, आज सम्म कार्यान्वयन नभएकाले, सोही विषयमा तत्काल कार्य अगाडी बढाउन माग गरेको छु ।
१४. भ्रष्टचारको विषयमा प्रदेश कार्यसमितिको धारणा के हो ? नक्कली भुटानी शरणार्थी, ललिता निवास काण्ड, सुन काण्डको विषय किन एजेण्डामा परेन भन्ने प्रश्न राखेको छु । भ्रष्टचारका विषयमा मधेश प्रदेश कार्यसमितिको धारणा स्पष्ट रूपमा मधेशी जनता समक्ष पुर्याउनु पर्ने भन्दै स्पष्ट आधिकारिक धारणाको लागि माग गरेको छु ।
१५. ८ वटा जिल्ला, ६१ लाख बढी जनसंख्या, ९६६१ वर्ग किलोमिटर ३२ क्षेत्र , ६४ प्रदेश क्षेत्र, १३६ नगरपालिका र गाउंपालिका भएको मधेश प्रदेशमा वर्तमान सचिवालयका कर्मचारीलाई कार्यभार थेग्न नसक्ने अवस्था भएकोले , थप कर्मचारीको आवश्यक्ताको विश्लेषण गरी कर्मचारीको व्यवस्थापन गर्न सुझाव दिएको छु ।
१६. अन्य पार्टीबाट नेपाली कांग्रेसमा साथीहरू प्रवेश गर्नु हाम्रो सफलता नै हो, पार्टी प्रवेश गर्ने वित्तिकै प्रदेश सदस्य पदमा मनोनित गर्दा ३० औं वर्ष देखि कांग्रेसमा कार्य गरेका साथीहरूको मनोबलमा पर्न सक्ने असर तर्फ समितिको ध्यानाकर्ष्ण गराएको छु । अन्त्यमा, Lost time is never found again “ अर्थात “गुमाएको समय फेरी भेटिंदैन” निर्धारित समय भन्दा २ घण्टा ढिलो बैठक शुरू हुंदा करीब ५० जना सदस्यको २ घण्टाको दरले १०० घण्टा अर्थात ५ दिनको समय व्यर्थ गएकोले बैठक तोकिएको समयमा शुरू गर्न जोडदार माग गरेको छु । साथै मधेश प्रदेशको सांगठानिक, प्रशासनिक, प्रशिक्षण र आर्थिक रूपमा सदैव साथ दिने प्रतिबद्धता व्यक्त गरेको छु ।







