काठमाडौँ, ८ साउन (रासस) |

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताउनुभएको छ । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराउनुभयो । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उहाँले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पार्नुभयो । सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्री दाहालले पेस गर्नुभयो ।“विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन् । सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गर्नुभयो ।उहाँले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवं सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिनुभयो । खाद्य प्रणालीको रूपान्तरण खाद्य सुरक्षाका लागि मात्र नभई दिगो विकास लक्ष्यको पूर्ण प्राप्तिका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।संयुक्त राष्ट्र सङ्घले सन् २०२१ मा आयोजना गरेको फुड सिस्टम समिटले तय गरेको विधिअनुसार राष्ट्रिय र प्रदेश तहका सरोकारवालाहरूका बीचमा खाद्य प्रणालीका बारेमा बुझाउन, कमजोरी पत्ता लगाउन र त्यसलाई रुपान्तरण गरी नयाँ मार्ग प्रशस्त गर्न सहयोग पुगेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले सोही आधारमा खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना तय गरेर कार्यान्वयनमा ल्याइएको र त्यसलाई दिगो विकास लक्ष्यसँग जोडिएको उहाँले बताउनुभयो ।

स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्दै सो कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि जिम्मेवारी प्रदान गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । दिवा खजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।”सन् २०२० को सुरुआतीमा संसारका धेरै बालबालिकाले विद्यालय भोजनको सहज पहुँच प्राप्त गरेको भए पनि कोभिड–१९ का कारण विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा आएको अवरोध, वित्तीय क्षेत्र खस्कँदा समस्या पैदा भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । पुरानै अवस्थामा फर्कनका लागि सम्पन्न र विकसित देशले साना र अल्पकविकसित मुलकहरूको शैक्षिक सुधारका लागि दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले अति कम विकसित र अल्पविकसित मुलुकका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उहाँले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताउनुभयो ।स्थानीय रूपमा साना स्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाइ विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हाम्रा खाद्य प्रणालीको रुपान्तरणका लागि संयुक्त राष्ट्रसङ्घीय प्रणाली, विकास साझेदार र सरोकारवाला निकायहरूको पूर्ण सहयोग र प्रतिबद्धताको प्रसंशा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले हाम्रा बालबालिकाका लागि दिगो भविष्य, गुणस्तरीय शिक्षा, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने रुपान्तरणकारी यात्राका लागि हामी सबैले होस्टेमा हैंसै गर्दै अगाडि बढ्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here