काठमाडौँ, २ साउन (रासस) |
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि)लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिनुभयो ।नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गर्नुभएको हो । यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका थियो । उक्त फोरममा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिको सहभागिता छ ।उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा सङ्कटका प्रभावबारे प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यका योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेको हो ।उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा सङ्घीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, सङ्घीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।








