ढोरपाटन, २ साउन (रासस) |
बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ । नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवातसँगै केन्द्र स्थापना गरी केन्द्रबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नं २ मा आवश्यक उपकरण राख्ने र कर्मचारी बस्ने गरी ट्रस भवन निर्माण गरेको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अब कोही पनि नागरिक एम्बुलेन्स नपाएर अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने उहाँले बताउनुभयो ।नगरभित्र हुने जुनसुकै विपद्मा परेकाको तत्काल उद्धार गर्ने गरी सम्यन्त्र तयार पारिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरिएको भन्दै उहाँले आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी व्यवस्थापन गरिएको हो ।
“बजार क्षेत्र होस् वा ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइलाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्वतयारी त गर्नैप¥यो । सचेत हुँदाहुँदै पनि कहिलेकाहीँ अप्रत्याशित विपद् आइलाग्ने हुँदा हामीले अहिले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ, दमकल र शववाहन पनि केन्द्रमा छन् । शववाहन प्रयोग गरेबापत केही शुल्क उठाउने छौँ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुनेछ । उपप्रमुख राजु खड्काले केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताउनुभयो । आवश्यक साधन र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै उहाँले नगर क्षेत्रभित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्री नं १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने जानकारी दिनुभयो । आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताउनुभयो । बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखेको उहाँको भनाइ थियो । यो सेवाको अहिले सुरुआती चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएर आगाडि बढ्ने योजना रहेको उपप्रमुख खड्काले बताउनुभयो ।








