बझाङ, २८ असार (रासस) |
बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोप्नुभएका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उहाँको रोजाइ तरकारी खेती नै भएको छ ।“दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भन्नुभयो । उहाँ यस वर्ष मात्र लामो समयसम्म घरमा बस्नुभएको हो ।
वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उहाँको परिवारको खर्च चल्थ्यो । बोहराले भन्नुभयो, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।”कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताउनुभयो । “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।”बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उहाँले सुनाउनुभयो ।मनमती बोहरा ७१ वर्षकी हुनुभयो । उहाँलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । “एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।” त्यसपछि कहिल्यै आलु नलगाएको उहाँले बताउनुभयो ।यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताउनुभयो । “हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।” उहाँले भन्नुभयो ।
यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो । “कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ”, विष्टले भन्नुभयो, “काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।” आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उहाँले बताउनुभयो । “कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उहाँले बताउनुभयो । नतिजा सफलोन्मुखतिरै देखिएको छ । आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्नुहुन्थ्यो । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उहाँ पिथौरागढ हानिनुभयो । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा जानुभयो ।
काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु !” काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उहाँले बताउनुभयो । आनन्दपुरमा ३५ परिवार छन् । ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन् । सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्नुहुन्छ । पिथौरागढमा उहाँहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्नुहुन्छ । काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उहाँले बताउनुभयो । पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ । “पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला ।” अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उहाँले बताउनुभयो ।पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उहाँले बताउनुभयो ।








