गोरखा, २६ असार (रासस) |
डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ । कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उहाँले बताउनुभयो । “हामीले तीन ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेका छौँ |
विशेष गरेर कवुलियती वन, सामुदायिक वनमा रहेका बाँझो जमिनमा बिरुवा लगेर वृक्षरोपण गर्न उपभोक्ता समिति र समुदायलाई प्रोत्साहन गर्नका लागि निःशुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो ।“तीनवटा नर्सरीमध्ये पायकपर्ने ठाउँमा पुगेर प्रक्रिया पूरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएका छौँ अधिकाशं ठाउँका उपभोक्ता समिति तथा समुदायले धेरै बिरुवा लगेर पनि वृक्षरोपण गरिसकेका छन्, केही ठाउँमा अझै लैजाने क्रम चलिरहेको छ ।” यसले समुदायस्तरमा आयआर्जन वृद्धि गर्नसमेत मद्दत पुग्ने उहाँको भनाइ छ ।कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ । त्यस्तै सौन्दर्यवर्द्धक कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यसबाहेक फलफूलका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्तालगायतका बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय गोरखाले हरेक वर्षजसो नर्सरीमार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ ।








