रामपुर, १८ असार (रासस)
खानेपानी सधैँ गाग्रीमा बोकेर उपभोग गर्ने पाल्पाको रामपुर नगरपालिका–३ बोटेगाउँका बासिन्दा अहिले सो खानेपानी समस्याबाट मुक्त भएका छन् । बोटे समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रका बासिन्दा बाउबाजेको पालादेखि नै नदी, खोला किनारका मूल, कुवामा पुगेर गाग्रीमा बोकेर पानी पिउँन बाध्य थिए । उनीहरु अहिले भने नगरपालिकाले खानेपानी आयोजना निर्माण गर्न सहयोग गरेपश्चात् गाउँमा पानी आएपछि खुसीले दङ्ग छन् ।
गण्डकी ढिक बोटेगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घन्टौँ लगाएर पानी बोक्नुपर्ने समस्या सदाका लागि टरेको छ । आयोजनाअन्तर्गत गाउँदेखि करिब चार सय मिटर पूर्वमा रहेको निस्दीखोला किनारको ठूली पधेँरी भन्ने स्थानमा मुल बाँधेर गाउँमा पानी ल्याइएको छ । त्यसअन्तर्गत मुलदेखि २० मिटर पश्चिमतिर पर्ने खेतमा पाँच हजार लिटर बराबरको पानी सङ्कलन ट्याङ्की (रिजर्भ ट्याङ्की) सो ठाउँबाट तीनसय मिटर दूरीमा पश्चिममा २७ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रणालीबाट लगिएको पानी गाउँमा वितरण गरिएको छ ।
नजिकै रहेको कालीगण्डकी नदी किनार तथा निस्दीखोलाको किनारमा रहेका विभिन्न मुलबाट पानी बोकेर जिविका चलाइरहेका स्थानीय उपभोक्तालाई घरमै धारामा पानी भरेर उपभोग गर्न पाउँदा अन्य कामकाजमा निस्कन सजिलो भएको छ । पानी बोक्न धेरै समय खर्चनुपर्दा अन्य कामकाजमा निस्कन अर्थात् समय निकाल्न अप्ठ्यारो पथ्र्यो । बिहान साँझको घरधन्दा, छोराछोरीलाई स्कुल पठाउन निकै झमेला बोक्दै आउनुभएकी जमुना बोटे पानी बोक्ने समय हिजोआज अन्यत्र काममा सदुपयोग भइरहेको बताउनुहुन्छ । “खडेरीयाममा त पानी बोकेरै समय व्यतित हुन्थ्यो, नदी, खोलाका मुल, कुवामा पानी खोज्न जाँदा घरको काम नै अलपत्र हुन्थ्यो । बोटेगाउँमा हाल ५७ घरपरिवारको बसोबास छ । यस आयोजनाबाट तीन सय ९१ स्थानीय लाभान्वित भएका छन् । आयोजना भर्खरै सम्पन्न भएकाले हाललाई गाउँमा सबैलाई पायक पर्ने गरी १० वटा धारा जडान गरी खानेपानी वितरण भइरहेको छ । आगामी वर्ष नगर सरकारले स्थानीय उपभोक्ताको माग र आवश्यकताका आधारमा सबैका घरघरमा धारा जडान गरिदिने जनाएको छ ।
यस खानेपानी आयोजनाले बोटेगाउँमा स्थानीय सरकारले प्राथमिकता दिएर निर्माण भएको योजनाले ठूलो राहत पुगेको र अहिले यहाँको जनघनत्वलाई दृष्टिगत गर्दै १० वटा धारा जडान गरी वितरण गरेको पानी पर्याप्त भएको युवा प्रकाश ज्ञवाली बताउनुहुन्छ । नगरपालिकाको रु १० लाख र जनसहभागिता रु एक लाख ७६ हजार आठसय गरी जम्मा रु ११ लाख ७६ हजार आठ सयको लागतमा योजना निर्माण भएको गण्डकीढिक बोटेगाउँ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष केशव बोटे बताउनुहुन्छ । सम्झौता भएको करिब डेढ महिनाको अवधिमा उपभोक्ता समिति गाउँमा पानी ल्याएर वितरण गर्न सफल भएको छ । छोटो समयमा नै उपभोक्ता समितिको सक्रियतामा पानी ल्याइएको छ । आयोजना निर्माणका लागि स्थानीय निरमाया बोटे, मङ्गली बोटे र सन्तबहादुर दर्जीले मुल तथा ट्याङ्की निर्माणमा सहजीकरण गरिदिपछि योजना सम्पन्न भएको हो । ‘एक घर एक धारा’ को अभियानलाई अगाडि सारेको आवश्यकताका आधारमा बजेट विनियोजन गरेर घर घरमा सफा, स्वच्छ पिउने पानी वितरण गरिने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “पानीको स्रोत नभएका स्थानमा लिफ्टिङ गरेर पानी वितरण गर्ने नगर सरकारको योजनाअनुसार काम भइरहेको छ । थोरै बजेट र छोटो समयमा छिटो काम सम्पन्न गरेकामा नगर प्रमुख थापाले उपभोक्ता समितिलाई धन्यवाद दिँदै यसको दिगोपनाका लागि सबै उपभोक्ता लाग्न आग्रह गर्नुभयो । सहजरुपमा स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भए पनि यहाँका बासिन्दालाई दीगो र भरपर्दो योजना नहुँदा सधैँ पानी खोज्न भौतारिनुपर्ने अवस्था थियो । नगरपालिकाले ‘एक घर, एक धारा’ भन्ने नेपाल सरकारको नीति अवलम्बन गरी खानेपानीको पहुँच नपुगेका स्थानमा योजनामार्फत घरघरमा पानी वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।








