काभ्रे, १८ असार (रासस) |

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान प्रदान गरिएको छ । ज्येष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोराछोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार’ सम्मान गरेको हो । गाउँपालिकाले चार वर्षदेखि यस्तो सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष २४ जनलाई श्रवणकुमार सम्मान प्रदान गरिएको छ । गाउँपालिकाका १२ वडा समितिले छनोट गरी पठाएका प्रत्येक वडाका दुई जनाका दरले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै आइएको हो । ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न एवं सम्मानका लागि निःशुल्क स्वास्थ्य बीमासँगै उहाँहरुको रेखदेखमा दिनरात नभन्ने छोरा, छोरी तथा बुहारीलाई उक्त सम्मान प्रदान गर्दै आइएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।  उहाँका अनुसार समाजमा ज्येष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीले आफ्ना बाबुआमालाई सम्मानपूर्वक व्यवहार गरुन् भन्ने उदेश्यले यो पुरस्कारको व्यवस्था गरिएको हो । “आफ्ना बाबुआमा तथा सासू र ससुरालाई वृद्ध अवस्थामा स्याहारसुसार, औषधोपचार, राम्रो बोली, व्यवहार गर्ने छोराछोरी तथा बुहारीलाई सम्मान गर्दै आइएको हो”, लामाले भन्नुभयो ।

यस वर्षको पुरस्कार एवं सम्मान वडा नं १ का बाबुलाल भोम्जन र शङ्कर श्रेष्ठ, २ का पूर्णसिं बल र लालबहादुर लामा ३ तथा देवीमाया तामाङ र कुमार तुम्सिङ मगर, ४ का कुलबहादुर रानामगर र सुभद्रा मगर, ५ का सुरेन्द्रप्रताप अर्याल र कामीसिंह दोर्जे लामा, ६ का जीवनकुमार लामा र इन्द्रबहादुर लामा, ७ का कुमारी तामाङ र श्रीराम प्याकुरेल, ८ का कुमारी तामाङ र नाप्ले तामाङ , ९ का साहिला तामाङ र साहर पुलामी मगर, १० का रविन्द्र ठकुरी र भीमकृष्ण लामा, ११ का नसन्तीकुमारी तामाङ र भीमबहादुर मगर तथा वडा नं १२ का ङेमा वाङ्जु मोक्तान र पवन ठाडामगरलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडास्तरबाट छनोट भएर आउनुभएका ज्येष्ठ नागरिकका सन्ततिलाई रु पाँच हजार तथा सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रम सुरु भएयता गाउँपालिकाले करिब एक सयलाई सम्मान गरिसकेको छ । गाउँपालिका क्षेत्रभित्रका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रति आफ्नो जिम्मेवारी तथा आफ्नो दायित्व बोध गराई नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताइएको छ । यसैबीच गाउँपालिकाले चालु आव २०७९÷८० देखि ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमाको नीतिगत व्यवस्था गरेको छ । चालु आवमा रोशीका ६० वर्ष नाघेका एक हजार चार सय ४० ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बीमाको सेवा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here