चितवन, २८ जेठ (रासस) |

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट २० वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा कोरलिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सितामाईदेखि सौराहासम्म आठ गुँडबाट दुई सय ४२ अण्डा सङ्कलन गरेको थियो । ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिनुभयो । अन्य अण्डाबाट बच्चा कोरल्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।

प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । उहाँका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गतवर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आईपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् । मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै यस वर्ष थोरै मात्र अण्डा सङ्कलन गरिएको बताउनुभयो । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ गोही विभिन्न नदीमा छाडी सकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तिमा एक हजार एक सय ३२ गोही छाडिएको छ । नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ । पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ । नदी प्रदुषित हुँदै जानु, जथाभावी नदीजन्य पदार्थको उत्खनन् गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नुजस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here