काठमाडौँ, १७ जेठ |
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं (नेकपा माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित तस्बिर प्रदर्शनीको उहाँले आज अवलोकन गर्नुभएको हो । तस्बिर अवलोकनपछि राससको काम प्रशंसनीय रहेको बताउनुहुँदै उहाँले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउँदै नेता कार्कीलाई ‘रासस ः हिजो र आज’ पुस्तक प्रदान गर्नुभयो ।
सो अवसरमा महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारीलगायत राससका पदाधिकारी एवं सञ्चारकर्मीले उहाँलाई स्वागत गर्नुभएको थियो । राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको प्रदर्शनी सर्वसाधारण सबैका लागि खुला छ । बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने सो प्रदर्शनी आजसम्म सञ्चालन हुनेछ । विशेष गरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति, मुलुकका लब्धप्रतिष्ठित व्यक्तित्वसहित चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि राख्ने, आमसञ्चारकर्मी र सर्वसाधारण सहभागी भइरहनुभएको छ । मङ्गलबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यही जेठ १४ गते सो प्रदर्शनी अवलोकन गर्दै गणतन्त्र दिवसको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्न सहयोग पुग्ने सिर्जनशील कार्यक्रम आयोजना गरेकामा राससलाई धन्यवाद दिनुभएको थियो । विशेष गरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्यजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट एक सय वटा तस्बिर समेटेर हरेक वर्ष तस्बिर प्रदर्शनी गर्दै आएको छ ।