काठमाडौंर, १७ फागुन ।
गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेकोचलचित्रमा काम गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो । उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन् । गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन् ।
भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन् ।’ सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौं आउनुभएको हो । काठमाडौं आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।