काठमाडौं ४ फागुन ।
राष्ट्रियसभाका सांसदहरुले संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरुको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाउनु भयो । बिहीबार सिंहदरवारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले बैठक भनेर समय बिताउने मन्त्रीहरुको तौरतरिका ठिक नभएको बताउनु भयो । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘विजनेश’नै दिन नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो । उहाँले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भिर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । उहाँले महिला जनप्रतिनिधिहरु संघीयताको भावना अनुसार काम गर्न अझ बढि जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहो¥याउनु भयो ।








