काठमाडौं ३ फागुन ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै सांसद केसीले सर्वोच्च
अदालत कायममुकायमको नेतृत्वमा हुँदा यसले सर्वोच्च अदालतमा मनोवैज्ञानिक र संस्थागत असर पर्ने बताउनु भयो । उहाँले विधिको शासन पालनको निम्ति सर्वोच्च अदालतलाई पूर्णता दिने काम तत्कालै प्रारम्भ गर्न सरकारलाई आग्रह
गर्नुभयो । त्यस्तै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको अहाअभियोग अनिर्णित भएको भन्दै यसो हुनु विधि विहिनताको पराकाष्टा भएको टिप्पणी गर्नुभयो । त्यसैगरी समय माग गरी बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले बालाजु बसपार्क क्षेत्रमा भएको घटनाको निन्दा गर्नुभयो । दिनदहाडै लुटपाट मच्चिदा पनि सरकारले सुरक्षाको प्रत्याभुति दिन नसकेको उहाँले बताउनु भयो । बसपार्कलाई व्यवस्थित गर्दै बस व्यवसायीहरुले कानून र नियम अनुसार काम गर्न पाउनुपर्ने र पार्किङ सुविधाको प्रयोग गर्न पाउनुपर्ने उहाँको भनाई छ । सांसद महतले मजदुरको नाममा अरु नै पसेर लुटपाट मच्चाएको भन्दै आशंका व्यक्त गर्नुभयो । सरकारलाई छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने र यातायात
व्यवसायीको जायज मागलाई पुरा गर्नुपर्ने उहाँले बताउनु भयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति बिरोध जनाउनु भयो । उहाँले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र रु भनि प्रश्न समेत गर्नुभयो । उहाँले सडक जाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएको प्रधानमन्त्रीले किन नसकेको हो सो सम्बन्धमा संसदलाई जानकारी गराउन माग गर्नुभयो ।







