काठमाडौं २१ माघ ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गर्नु भएको छ । देशलाई फाईदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो । मुख्यसचिव बैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक सावित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औंल्याउनु भयो । उहाँले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोही अनुसार हुनुपर्ने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै अर्थ सचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यक्ता देखेको बताउनु भयो । उहाँले सूचना र प्रविधिको बजार क्षण भरमै फेरिने भएकाले त्यसको व्यवस्थापन गर्ने कार्य चुनौतिपूर्ण रहेको स्पष्ट पार्नु भयो ।अर्थ सचिव रायाले सूचना प्रविधिको प्रयोगका लागि बजेटको अभाव हुन नदिन पनि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सूचना प्रविधिको बजारमा नेपालको प्रवेश सहज नभएकाले त्यसतर्फ पनि गम्भिर भएर सोच्नुपर्ने बेला आएको स्मरण गराउनु भयो ।







