१५ माघ २०७९, काठमाडौँ ।

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । लामिछानेको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here