काठमाडौं ९ माघ ।
नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनु भयो ।बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकतावद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनु भएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो । नेपाली काँग्रेसले सत्तारुढ नेकपा (माओवादी केन्द्र)को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।








