काठमाडौं २६ पुस  ।

सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव आईरहँदा सांसदहरुले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका हुन । पार्टी संसदीय दलको बैठक बस्नु अघि मंगलबार संघीय संसद भवन परिसरमा पुग्नु भएका नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताउनु भयो । उहाँले न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै स्थानीय तहमा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने स्पष्ट पार्नु भयो । अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गर्नु भयो । उहाँले प्रतिपक्षमै बसेर काँग्रेसले काम गर्दा उपयुक्त हुने दावी समेत गर्नु भयो ।  काँग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भिर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ । उहाँले विपक्षमै बसेर अघि बढदा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।  काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा हुनुहुन्छ भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here