काठमाडौं १० पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गर्नु भएको छ । आईतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि काँग्रेस नेता समेत रहनु भएका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गर्नु भएको हो । उहाँले गठबन्धन मुलुकको आवश्यक्ता भएकाले त्यसलाई जोगाएर अघि बढन आफूहरु निरन्तर प्रयासरत रहेको समेत बताउनु भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिनु भएको थियो । तर सञ्चारमन्त्री कार्कीले फेरी केहीबेर पछि बैठक बस्ने र सहमती हुने दावी गर्नु भयो ।मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताउनु भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दावी पेश गर्नका लागि आह्वान गर्नु भएको एकहप्ताको समय आजै अपरान्ह ५ बजे सकिदैछ ।








