काठमाडौं ८ पुस ।
कानुन व्यवसायीहरुले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाईमा ढिलाई भएको बताएका छन । सर्वोच्च अदालतको फैसलासँगै केन्द्रिय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ । यसैबीच, शोभराजको पक्षमा वकालत गर्दै आउनु भएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाईमा ५ वर्ष ढिलाई हुन गएको बताउनु भयो । उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकीर समेत गर्नु भयो । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारगार भित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क समेत गर्नु भयो । यसैबीच, वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनु भएको छ । शोभराजको पक्षमा वकालत गर्दै आउनु भएका उहाँले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयम्ले पनि न्याय पाएको प्रतिक्रिया दिनु भयो । वरिष्ठ अधिवक्ता शर्माले भन्नु भयो, ‘सर्वोच्च अदालतको जुन आदेश भयो । यो सराहनीय छ । र, यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भएपनि न्याय पाएको छन् चाल्र्स शोभराजले । अध्यागमन विभागले आजै शोभराजलाई फेरी नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुग्नु भएकी कानुन व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको स्पष्ट पार्नु भयो ।







