काठमाडौं १ पुस ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ । शुक्रवार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताउनुभएको हो ।
उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ । उहाँले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गर्नुभयो । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउनु भयो । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो । मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताउनु भयो । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले
भन्नुभयो – ‘यहाँको समाज स्वतन्त्रताबाट सुसज्जित भएर दक्षिण एशियामा नै स्वतन्त्र पत्रकारिताका निमित्त, अभिव्यक्ति स्वतन्त्रताका निमित्त हामीले संविधानमा जुन नागरिकका हक स्वतन्त्रताका बारेमा जुन व्यवस्था गरेका छौँ त्यसको पूर्ण रुपले उपयोग गर्ने मुलुकको रुपमा दक्षिण एशियामा नेपाल चिनिन सकोस् र दक्षिण एशियामा नेपाललाई त्यस दिशामा अग्रसर गराउन हामी सकुँ । त्यस दिशामा पत्रकार मित्रहरुको ध्यान पुगोस् भन्ने म यहाँहरुलाई आग्रह गर्न चाहन्छु । उहाँले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडी बढ्नु आवश्यक रहेको बताउनु भयो ।








