काठमाडौं २० मंसिर, ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्न सोमबार (आज) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेका हुन । बैठकपछि संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सरकार्यका अघि बढनुपर्ने सन्देश दिएको र सोही अनुसार अघि बढने सहमती बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठकले निर्वाचनको दौरानमा गठबन्धनको केन्द्रबाट गएको निर्देशन र निर्णयहरु कतिपय निर्वाचन क्षेत्रमा कार्यान्वयन नभएको स्विकार गर्दै त्यसको उचित समिक्षा र सम्बोधन गर्दै अघि बढने निर्णय पनि गरेको छ ।बैठकले निर्वाचनमा सहभागी आम मतदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना पनि गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गरेको नेपाल सरकार र त्यसमा संलग्न निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, संचारकर्मी, नागरिक समाज, राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका निर्वाचन पर्यवेक्षकप्रति पनि आभार व्यक्त गरिएको मन्त्री कार्कीले बताउनु भयो ।







