काठमाडौं १८ मंसिर,  ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ । आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै
उहाँले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताउनु भयो । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताउनु भयो । उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताउनु भयो । उहाँले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताउनु भयो । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here