काठमाडौं १६ मंसिर  ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयातमा भन्सार शुल्क छुट दिन सरकारसँग माग गरेको छ ।  बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के।के। कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनु भयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताउनु भयो । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयातमा भन्सार शुल्कमा छुट दिनुपर्ने उहाँले माग राख्नुभयो । त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उहाँको भनाई छ । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो । यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताउनु भयो । उहाँले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here