काठमाडौं २१ कात्तिक ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताउनु भएको हो । निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उहाँको भनाई थियो । ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पार्नु भयो ।सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढि संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराउनु भयो । श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गर्नु भयो ।पूर्वकार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताउनु भयो । निर्वाचनमा पठाइएको मतपत्रको अनुगमनको काममा पनि आयोग सचेत हुनुपर्ने गुरुङको भनाई थियो ।गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताउनु भयो । विगतमा ब्यालेट बोकेर आएको ट्रक नै बेपत्ता भएको घटनाको चर्चा गर्दै उहाँले त्यस्तो अवस्था आउन दिन नहुने पनि बताउनु भयो ।







