काठमाडौं २० कात्तिक ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो भनाई राख्नु भएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहो¥याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता समेत व्यक्त गर्नु भयो । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टिकरण थियो ।प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताउनु भयो । उहाँले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गर्नु भयो । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उहाँको भनाई थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ । यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गछौं । हाम्रो निष्ठामाथि शंका नगरिदिनोस् । बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस् । निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।






