२०७९ कात्तिक १८ गते ।  आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरु बीच छलफल भएको छ ।
भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरीजिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा शतर्कताको सम्बन्धमा छलफल गर्नुभएको हो । बिहीवार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको सुपौल जिल्लाको जिल्लाधिकारी कौशलकुमार लगायतको टोलीको सहभागिता रहेको थियो । बैठकमा निर्वाचनको बेला सीमामा हुनसक्ने अवैध क्रियाकलापलाई रोक्ने सम्बन्धमा छलफल भएको छ । छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खुला सीमानाको बोर्डरबाट हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने सम्बन्धमा कुराकानी भएको बताउनु भयो । उहाँले निर्वाचनको ७२ घण्टा अगाडीदेखि सीमा बन्द गर्ने विषयलाई कसरी कडाइका साथ पालना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यो सीमा सुरक्षा बैठक भनेको सीमासँग जोडिएको दुईवटा देशको दुईवटा जिल्लाहरुबीचको बैठक हो । यसमा  नेपालको तर्फबाट सुनसरी, सप्तरी र भारतीय पक्षबाट सुपौल जिल्लाको सुरक्षा निकायका प्रमुखहरु बसेर आज हामीले बैठक सम्पन्न गरेको अवस्था छ । मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा यो निर्वाचनलाई खुल्ला सिमाना बोर्डरबाट हुने अवैध किसिमका क्रियाकलापहरुलाई नियमन, नियन्त्रण गर्ने र मतदानको दिनभन्दा ७२ घण्टा अगाडी बाट सीमा बन्द गर्ने हाम्रो कानूनी व्यवस्था छ । त्यसलाई कडाईका साथ कसरी परिपालना गर्न सकिन्छ, त्यसको सन्दर्भमा हामीले बैठक गरेर छलफल ग¥यौँ र निर्णय पनि गरेको अवस्था छ । यसबाट आउँदो निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ भन्ने
हाम्रो द्विपक्षिय आशा रहेको छ ।’

बैठकपछि भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशलकुमारले नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमामा आफूहरुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले निर्वाचन हुनु ७२ घण्टा अगाडी बोर्डरमा कडाइ गर्न आफूहरु तयार रहेको र सोही अनुरुप तयारी गर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here