काठमाडौं १६ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गर्नुभएको छ । बुधवार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाँणले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भयरहीत वातावरणमा आफूले रोजेको मतदातालाई भोट हाल्न पनि आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जनतालाई सबल गराउने, जनताको समस्याहरुलाई सम्बोधन गर्ने, नेपाली जनतालाई समृद्ध र उन्नतीको दिशामा अग्रसर गराउने दायित्व सबै नेपालीहरुको साझा दायित्व भएको पनि बताउनु भयो । गृहमन्त्री खाँणले जनताको दायित्व पूरा
गर्ने कुरामा राष्ट्रिय राजनीतिको मुल धारमा समाहीत नभएका दलहरु पनि एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिको मुल धारमा समाहीत नभएका दलहरुका कतिपय माग सम्बोधन गर्न राजनीतिक र प्रशासनिक रुपमा संशोधन कार्यको थालनी भइसकेको भन्दै मागहरु छिटो पूरा गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो । गृहमन्त्री खाँणले निर्वाचन संविधानको सुन्दर पक्ष भएको उल्लेख गर्दै संविधानले नै नेपाली जनतामा सर्वोच्चता स्थापित गरेको बताउनु भयो ।
नोटः यो समाचार सम्बन्धी बाइट मात्र उपलब्ध हुने जानकारी गराउँछु ।







