काठमाडौं २८ असोज ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उहाँले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली काँग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताउनु भयो । उहाँले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव,निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याउनु भयो । उहाँले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनु भयो ।








